३. समस्या र चुनौती
(क) बिदेशी पर्यटकहरूका लागि आवश्यक सेवा समयमै उपलब्ध गराउनु पर्नेमा पर्याप्त सूचनाको अभावमा स्वदेशभित्रै होटल, ट्राभल र टूर अपरेटरहरू बीच संजाल स्थापना गर्न नसक्नाले पर्यटकले थप हैरानी व्यहोर्नु परेको अवस्था छ भने नेपाल आउन खोज्ने विभिन्न देशका पर्यटकहरूलाई सोझै नेपाल सम्म आउनसक्ने भरपर्दाे हवाइसेवाको सञ्जाल विस्तार गर्न सकिएको छैन ।
(ख) पर्यटकीय स्थलहरूको पहिचान गरी ती क्षेत्रमा पूर्वाधारको एकीकृत एवं समन्वयात्मक विकासका सम्भावनालाई अवसरको रूपमा उपयोग गर्न सकिएको छैन भने प्राप्त लाभको न्यायोचित वितरण गर्नु पनि चुनौतीपूर्ण देखिएको छ ।
(ग) स्थानीय उत्पादन उपलब्ध नहुँदा पर्यटकले उपभोग गर्ने सेवा र वस्तुको उपभोगबाट प्राप्त हुने लाभ अपेक्षित मात्रामा प्राप्त गर्न सकिएको छैन भने पर्यटनजन्य क्रियाकलापलाई वातावरणमैत्री बनाई संचालन गर्नु पनि चुनौतीपूर्ण कार्य भएको छ ।
(घ) पर्यटन क्षेत्रमा संलग्न जनशक्तिलाई उपयुक्त प्रशिक्षण दिन नसक्दा स्तरीय सेवा र त्यसबाट बढी लाभ लिन एवं सेवा सुविधाको विस्तार गर्न समेत सकिएको छैन ।
(ङ) पर्यटन विकासका सम्भावना तथा अवसरहरू प्रशस्त भएपनि यसलाई उपयुक्त स्तरमा विकास गरी आय आर्जनमा रूपान्तरण गर्नु चुनौतीपूर्ण कार्य भएको छ भने ग्रामीण गरीबी निवारणका लागि पर्यटन कार्यक्रमको उपलब्धिलाई मूल्याङ्कन गरी दिगो विकासका कार्यक्रमहरू शुरु गर्न सकिएको छैन ।
(च) यथेष्ट स्रोत, तथ्याङ्क एवं सूचनाको अभावमा सम्पदा संरक्षण कार्यलाई प्रभावकारी बनाउन सकिएको छैन ।
(छ) पर्यटन क्षेत्रका साझेदार सरकारी, गैरसरकारी एवं निजी लगानीकर्ताहरू पूर्वाधार विकासमा भन्दा प्रबद्र्धनात्मक कार्यमा बढी संलग्न हुँदा यो क्षेत्रले लगानीमा प्राथमिकता पाउन सकेको छैन ।
(ज) द्वन्द्वकालमा क्षतिग्रस्त संरचना (विमानस्थलहरू) को पुननिर्माण एवं विस्तार कार्य स्रोतको अपर्याप्तताका कारण सञ्चालनमा ल्याउनु चुनौतीपूर्ण कार्य भएको छ ।
(झ) स्थानीय निकायको संलग्नता र सक्रियता विना पर्यटन क्षेत्रको विकास दिगो हुन नसक्ने अवस्था टड्कारो हुँदा हुँदैपनि यस सम्बन्धी व्यवस्थापकीय, नीतिगत र कानुनी व्यवस्था गर्न नसक्दा जिम्मेवारी, स्वामित्व सिर्जना र समन्वयमा प्रभावकारिता आउन सकेको छैन ।
(ञ) पूर्वाधार निर्माणमा प्रत्यक्ष संलग्न रहने सडक, खानेपानी, विद्युत, संचारसँग समन्वयात्मक रूपमा क्रियाकलाप संचालन हुन सकेको छैन ।